घर पत्रपत्रिका तरकारीको मूल्य आकाशियो

तरकारीको मूल्य आकाशियो

53
0

काठमाडौं । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही सस्तो थियो। तर, अहिले मूल्य बढेर घरव्यवहार चलाउनै कठिन भएको छ। लकडाउनले गर्दा आफ्नो ब्युटिपार्लर व्यवसाय चौपट भएको अवस्थामा तरकारी अचाक्ली महँगो हुँदा भान्छा चलाउन कठिन भएको छ।

‘खै यो बजारलाई के भाको हो कुन्नि ? अचम्मै भएँ। बरु लकडाउनका बेला तरकारी निकै सस्तो थियो’, उनले भनिन्, ‘अहिले त छुनै नसक्ने गरी मूल्य बढ्यो। भान्छाको खर्च बढेर घरव्यवहार चलाउनै कठिन भयो।’

आजको अन्‍नपूर्णमा खबर- उनले असार १२ गते रातो आलु प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेकी थिइन्। अहिले भाउ बढेर खुद्रा मूल्य ७५ रुपैयाँ पुगेको छ। उनले परबल किलो ४५ रुपैयाँमा किनेकी थिइन्, अहिले १ सय ६० पर्छ। बोडी प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो, सोमबार १ सय २० रुपैयाँ पुगेको सुन्दा उनी अचम्मै परिन्। ‘हरियो तरकारी किनेर खाने समय रहेन’, उनले भनिन्।

पौडेलजस्तै अरू राजधानीवासी हरियो तरकारी अत्यधिक महँगोमा किन्न बाध्य छन्। लकडाउन अन्त्यसँगै पछिल्लो साता संघीय राजधानी मात्रै होइन, देशभरका बासिन्दाको भान्छा महँगिएको छ। यसका पछाडि प्राकृतिक वर्षा र बाढीसँगै बिचौलिया कारक देखिएका छन्।

त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। लकडाउनका कारण आर्थिक रूपमा धराशायी बनेका नेपालीलाई यो मूल्यवृद्धिले थप पीडा दिएको छ।

लकडाउनअघि काठमाडौं उपत्यवासीले अत्यधिक परिमाणमा चामल, दाल र खाने तेल भण्डारण गरेकाले यी खाद्यान्नको माग घटेर मूल्य बढेको छैन। मध्य असारदेखि साउन अन्तिम सातासम्म वर्षात्का कारण तरकारी बाली अधिकांश गलेर उत्पादनमा कमी आउँछ। मागअनुसार उत्पादन नहुँदा बिचौलिया र खुद्रा व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेको देखिन्छ।

‘यो वर्ष पनि त्यस्तै भएको हो’, कालिमाटी तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले भने, ‘वर्षा र बाढीका कारण अधिकांश स्थानको तरकारी बाली नै नष्ट भएको छ। मागअनुसार आपूर्ति नहुँदा तरकारीको मूल्यवृद्धि भएको हो। यसमा केही खुद्रा व्यापारी र मध्यस्थकर्ता व्यापारीको पनि भूमिका छ।’

उपत्यकामा दैनिक ७ सय टन तरकारी माग भए पनि कालिमाटी बजारमा ४ सयदेखि ५ सय टन जति मात्रै आपूर्ति भइरहेको छ। भारतबाट हरियो तरकारी आयात ठप्पप्रायः भएकाले पनि व्यापारीले मौकाको फाइदा उठाएका छन्। विगत वर्ष स्वदेशमा तरकारी उत्पादन घटेको अवस्थामा भारतबाट आयात हुन्थ्यो।

कालिमाटी बजारमा केही तरकारीको मूल्य तुलनात्मक रूपमा सस्तो देखिए पनि चोक र गल्लीका खुद्रा व्यापारीले झन्डै दोब्बरसम्ममा बिक्री गरिरहेका छन्। कालिमाटी बजारमा सोमबार ठूलो गोलभेंडाको थोक मूल्य ५२ रुपैयाँ प्रतिकिलो रह्यो। बाहिरका खुद्रा व्यापारीले ८० रुपैयाँसम्म लिए। प्रतिकिलो ६९ रुपैयाँमा बिक्री भएको रातो आलुको खुद्रा मूल्य ७५ रुपैयाँ पुग्यो। ३१ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याजलाई खुद्रा व्यापारीले उपभोक्तालाई ५५ रुपैयाँमा बिक्री गरे।

खुद्रा व्यापारीले थोक मूल्य २८ रुपैयाँ प्रतिकिलो भएको बन्दा ६० रुपैयाँ, १ सय २२ मा कारोबार गरिएको काउली १ सय ९५, ५५ रुपैयाँमा बिक्री भएको मुला ८० रुपैयाँ, ६२ रुपैयाँमा कारोबार गरेको भान्टा ८५ रुपैयाँमा बिक्री गरे।

९५ रुपैयाँमा बिक्री भएको बोडी १ सय २०, ९८ रुपैयाँको परवल १ सय ६० र ४८ रुपैयाँ पर्ने करेला ८० रुपैयाँ प्रतिकिलोमा खुद्रा व्यापारीले बिक्री गरे।

अघिल्लो वर्ष साउन १२ गते ठूलो गोलभेंडाको औसत थोक मूल्य ६८ रुपैयाँ प्रतिकिलो थियो। यस्तै रातो आलु ४१, प्याज २६, बन्दा २८, काउली ७८, मुला ९८, भान्टा ७८, बोडी ७८, करेला ६८, परवल ९३ र घिरौंलाको मूल्य ७५ रुपैयाँ थियो।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले लकडाउन अवधिमा किसानले तरकारीको मूल्य नपाएर र बजारसम्म पुर्‍याउन नसकेर खेतमै खाल्डो खनेर नष्ट गरे। ठूलो परिमाणमा सडकमा फालेर नष्ट गरिएको थियो। ‘त्यो बेला तरकारी फल्ने सिजन भएर निकै उत्पादन भएको थियो’, अध्यक्ष घिमिरेले भने, ‘तर, उपत्यकाबाट अधिकांश सर्वसाधारण बाहिरिएको र होटेल रेस्टुरा पनि बन्द भएका कारण बिक्री नहुँदा किसानले लागत मूल्यको झन्डै तीन चौथाइसम्म मूल्य घटाएर बिक्री गर्नु परेको थियो।’

लकडाउन हटेसँगै उपत्यका फर्किनेको संख्या बढेसँगै छिटफुट रूपमा होटेल रेष्टुरा पनि सञ्चालनमा आएका छन्। त्यसले तरकारीको उपभोग दर बढाएको छ। उपभोग दर वृद्धि भए पनि वर्षा र बाढीका कारण उत्पादनमा आएको कमीका कारण आपूर्ति नहुँदा स्वाभाविक रूपमा मूल्य केही बढ्ने उनको भनाइ छ।

उनका अनुसार सरकारी निकायले खुद्रा व्यापारमा अनुगमन गरी कारबाही नगर्ने भएकाले उपभोक्ता ठगिएका छन्। ‘कालिमाटी बजारसँगै खुद्रा व्यापारमा पनि अनुगमनका लागि वर्षांैदेखि मन्त्रालयदेखि विभागसम्म धाइसक्यांै तर कुनै चासो देखाएनन्’, उनले भने।

बजार अनुगमनको जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पछिल्लो समय बजारमा देखिएको मूल्यवृद्धिको सूक्ष्म अध्ययन गरिरहेको दाबी गरे। केही अत्यावश्यक वस्तुको भाउ बढेको विषयमा अनुगमन गर्न टोली परिचालन गर्न लागिएको उनको भनाइ छ।

मासु र अन्डा पनि महँगो
कुखुराको मासुको मूल्यसमेत घटेको छ। तर, उपभोक्ताले प्रतिकिलो ४ सय घटीमा खरिद गर्न पाएका छैनन्। अझै भित्री बजारमा ४ सय २० रुपैयाँसम्म पर्छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार असार २० देखि प्रतिकिलो ३ सय ९० रुपैयाँ पर्नेमा १५ रुपैयाँ घटाइएको छ। उपभोक्ताले भने घटाइएको मूल्यमा मासु किन्न पाएका छैनन्। असार २० अघि मासुको मूल्य ३ सय ७५ थियो। ‘हामीले थोक मूल्य घटाएका छौं। खुद्रा व्यापारीले बढी मूल्य लिएको हो’, उनले भने, ‘सरकारले खुद्रा व्यापारमा लगाम नलगाएसम्म उपभोक्ता ठगिन्छन नै।’

नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले खुद्रा व्यापारीकै कारण उपभोक्ता मारमा परेको बताए। केसीका अनुसार प्रतिक्यारेट अन्डाको किसान मूल्य ३ सय ४५ छ। उपभोक्ता मूल्य ३ सय ७५ तोकिएको छ। तर, बजारमा प्रति क्यारेट ४ सय र प्रतिगोटा अन्डा १५ मा बिक्री भइरहेको छ।

बढ्यो चिनीको मूल्य
चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य बढाएका छन्। अहिले खुद्रामा प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ। बजार मूल्य हस्तक्षेपको भूमिकामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्यवृद्धि भएको हो। उता स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ। त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्य वृद्धि गरेका हुन्।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन दिनमा चिनीको उपभोक्ता मूल्य कम्तीमा एक सय रुपैयाँसम्म वृद्धि भएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक विक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको उपभोक्ता मूल्यवृद्धि भएको बताए। प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ।

थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीलाई खुद्रा पसलले एक सय रुपैयाँसम्म असुल गर्दै आएका छन्। ‘तीन दिनअघिसम्म खुद्रामा ८५ देखि ९० रुपैयाँसम्ममा चिनी बिक्री भएको थियो’,श्रेष्ठले भने, ‘साल्ट र स्वदेशी चिनी उद्योगीसँग चिनीको मौज्दात सकिएकाले ठूला व्यापारीले कालोबजारी गरी मूल्य अत्याधिक बढाएका हुन्।’