घर खेलकुद युभेन्ट्सको दबदबा

युभेन्ट्सको दबदबा

57
0

रोम : युभेन्ट्सले इटालियन सिरिए फुटबलमा लामो समयदेखिको आफ्नो एकाधिपत्य कायमै राखेको छ। साविक विजेता युभेन्ट्सले लगातार नवौं पटक सिरिएको उपाधिमाथि कब्जा जमायो। युभेन्ट्सले सोमबार बिहान खेलिएको खेलमा साम्पडोरियालाई २–० गोलले हराउँदै उपाधि चुमेको हो।

जारी सिजनमा दुई खेल खेल्न बाँकी रहँदै युभेन्ट्स च्याम्पियन बनेको हो। युभेन्ट्स सबैभन्दा बढी सिरिएको उपाधि जित्ने क्लब पनि हो। हालसम्म युभेन्ट्सले ३६ पटक सिरिएको उपाधि चुमिसकेको छ। सन् २०११÷१२ सिजनयता युभेन्ट्सले लगातार उपाधि जित्दै आएको छ।

सिरिएमा सबै टोलीले अझै दुई÷दुई खेल खेल्न बाँकी छ। तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी साम्पडोरियाविरुद्घ युभेन्ट्सले दुवै हाफमा एक÷एक गोल गर्‍यो। पहिलो हाफको अन्तिम समयमा आकर्षक गोल गर्दै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले घरेलु समर्थकलाई खुसी तुल्याए।

रोनाल्डोले जारी सिजनको लिगमा गरेको यो ३१औं गोल हो। सन् २०१८ मा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड छाडेर युभेन्ट्समा आबद्ध भएका ३५ वर्षीय रोनाल्डो युरोपका तीन चर्चित लिगमा ५०÷५० गोल गर्ने विश्वकै पहिलो खेलाडी पनि हुन्।

उनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, स्पेनिस ला लिगामा रियल म्याड्रिड र इटालियन सिरिएमा युभेन्ट्सबाट ५० गोल गरेका हुन्। प्रभावशाली पोर्चुगिज स्ट्राइकर रोनाल्डोले सिरिएमा भने अघिल्लो साता ५० गोलको कोशेढुंगा पार गरेका थिए।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको सिरिए पुनः सुचारु भएयता रोनाल्डोले १० गोल गरिसकेका छन्। उनी सन् १९३३÷३४ सिजनपछि युभेन्ट्सका लागि एकै सिजनमा ३१ गोल गर्ने पहिलो खेलाडी पनि हुन्। सन् १९३३÷३४ सिजनमा फेलिस बोरेलले युभेन्ट्सका लागि ३१ गोल गरेका थिए।

जारी सिजनको बाँकी दुई खेलमा थप गोल गर्न सके रोनाल्डोले बोरेलको कीर्तिमान पनि तोड्ने छन्। ‘युभेन्ट्समा आबद्ध भएर लगातार दुई उपाधि जित्न पाउँदा निकै खुसी लागेको छ’, खेलपछि रोनाल्डोले भने, ‘विश्वकै उत्कृष्ट क्लबसँग जोडिएर इतिहास रच्न पाउनु कुनै पनि खेलाडीका लागि गौरवको विषय हो।’

निर्धारित समयको ६७औं मिनेटमा फेड्रिको बेनार्डेस्चीले युभेन्ट्सका लागि दोस्रो गोल थपे। खेलको ७७औं मिनेटमा साम्पडोरिया १० खेलाडीमा समेटिएको थियो। साम्पडोरियाका मोर्टेन थोर्सबी दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसअघि पहिलो हाफको अन्तिम समयमा उनले पहिलो कार्ड पाएका थिए।

युभेन्ट्सका प्रशिक्षक माउरिजियो सारीले आफूहरू उपाधिको वास्तविक हकदार भएको बताए। ‘यो हाम्रा खेलाडीले मैदानमा गरेको परि श्रमको फल हो। हामी उपाधिको वास्तविक हकदार पनि थियौं’, उनले भने। उनी प्रिमियर लिग क्लब चेल्सीका पूर्वप्रशिक्षक पनि हुन्। उनले प्रशिक्षकको भूमिकामा जितेको यो पहिलो लिग उपाधि हो।

रोनाल्डोले यसपटकको उपाधि युभेन्ट्सको समर्थकका नाममा समर्पित गरेका छन्। ‘कोरोना भाइरसको त्रासका कारण अहिले हामीले बन्द (दर्शकविहीन) रंगशालामा खेल्नुपर्ने बाध्यता छ। हामीले आफ्ना समर्थकसँग खुसीसम्म साट्न पाउने अवस्था छैन’, उनले भनेका छन्, ‘त्यसैले यो उपाधि युभेन्ट्सका समर्थकप्रति समर्पण गर्न चाहन्छु।’

युरोपका चर्चित पाँचवटा लिगमा यसअघि कुनै पनि क्लबले लगातार नौपटक घरेलु लिगको उपाधि जित्न सकेको थिएन। युरोपभर हालसम्म तीनवटा क्लबले मात्र लगातार नौपटक उपाधि जित्न सकेका छन्। युभेन्ट्सका अतिरिक्त स्कटल्यान्डको क्लब सेल्टिक र बुल्गेरियाको क्लब लुदोगोरेट्सले मात्र यस्तो सफलता हात पार्न सकेका छन्। एजेन्सी