घर मनोरञ्जन सुशान्तका बुवाले दिए रियाविरुद्ध उजुरी

सुशान्तका बुवाले दिए रियाविरुद्ध उजुरी

57
0

पटना । आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिताले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गरेका छन्।

पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक सञ्जय सिंहका अनुसार एफआईआरमा सुशान्तका पिताले आत्महत्या दुरुत्साहनसहित रियाविरुद्ध विभिन्न आरोप लगाएका छन्। एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख गरिएको छ।

एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाइएको जानकारी निरीक्षक सिंहले जनाएका छन्। टोलीले मुम्बई पुगेर मुद्दाका दस्तावेज संकलन गर्नेछ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्। उनी ८ जुनमा सुशान्तको घरबाट सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्’, उनका पिताले उजुरीमा लेखेका छन्, ‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लिएर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो।’ उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप लगाएका छन्।

घटनाको सीबीआई जाँच हुनुपर्ने माग सुशान्तका परिवार र उनका शुभचिन्तकको रहँदै आएको छ। घटनालाई लिएर हालसम्म तीन दर्जनभन्दा बढीसँग प्रहरीले सोधपुछ गरिसकेको छ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए। उनको मृत्युपछि रिलिज गरिएको उनी अभिनीत फिल्म ‘दिल बेचारा’ले छोटो समयमा सबैभन्दा बढी हेरिने विश्व रेकर्ड बनाएको छ। एजेन्सी