घर समाचार सभामुख अग्नि सापकोटाको सुरक्षाकर्मीमा कोरोना संक्रमण

सभामुख अग्नि सापकोटाको सुरक्षाकर्मीमा कोरोना संक्रमण

120
0

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहने एक सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो दिनमा प्रहरी हेडक्वाटरमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ति सुरक्षाकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि दिइएको थियो ।

उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मी र निवासमा बस्ने कर्मचारीको स्वाब संकलन गरिएको छ । सभामुखको सुरक्षामा खटिने अगुवा गाडीका सुरक्षाकर्मीसमेत हेडक्वार्टरमै बस्ने गर्छन् ।

शुक्रबार सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको सभामुख सचिवालयले जानकारी दिएको छ ।

सभामुख सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी साउन ६ गतेपछि भने निवासमा आएका थिएनन् । सभामुखको अगुवा गाडीमा रहने सुरक्षाकर्मी सवारी हुँदा निवास पुग्ने र अन्य समय हेडक्वार्टरमै बस्ने गर्छन् ।

सभामुख निवासका सुरक्षाकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट शनिबार साँझसम्ममा आउने बताइएको छ ।