घर खेलकुद लुकाकुले बनाए दुई रेकर्ड

लुकाकुले बनाए दुई रेकर्ड

218
0

इन्टर मिलानका बेल्जियन फरवार्ड रोमेलु लुकाकुले सोमबार दुई रेकर्ड बनाएका छन्। सोमबार युरोपा लिगको क्वार्टरफाइनलमा इटालियन क्लब इन्टरले जर्मन क्लब वायर लिभरकुजेनलाई २–१ गोलले पराजित गर्दा लुकाकुले एक गोल गरेका थिए।

सोमबार टिमको अग्रता दोब्बर पारेसँगै लुकाकु युरोपियन प्रतिस्पर्धामा लगातार नवौं खेलमा गोल गर्ने पहिलो खेलाडी बने। उनले सन् २००५ मा न्युकासलका एलन सेएररले बनाएको लगातार आठ खेलमा गोल गर्ने कीर्तिमान भंग गरेका हुन्।

लुकाकुले युरोपियन प्रतिस्पर्धामा इंग्लिस क्लब एभर्टनका लागि लगातार पाँच खेल र इन्टरका लागि लगातार चार खेलमा गोल गरेका हुन्। लुकाकु युरोपियन खेलमा इन्टरका लागि लगातार ६ गोल गर्ने पहिलो खेलाडी बने। उनले इन्टरबाट चार युरोपियन खेलमा ६ गोल गरिसकेका छन्।

जारी सिजनमा लुकाकुले सबै प्रतियोगिता गरी इन्टरका लागि ३१ गोल गरिसकेका छन्। जससँगै सिजनमा उच्च लयमा लुकाकुले एकै सिजनमा सर्वाधिक गोल गर्ने आफ्नै रेकर्ड पनि भंग गरे। यसअघि उनको एकै सिजनमा सर्वाधिक गोलको रेकर्ड २७ गोल थियो। उनले सन् २०१७–१८ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि २७ गोल गरेका थिए। एजेन्सी