घर राजनीति नेकपा विवाद समाधानतिर : यसरी मिल्दैछन् ओली-प्रचण्ड

नेकपा विवाद समाधानतिर : यसरी मिल्दैछन् ओली-प्रचण्ड

4685
0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच बालुवाटार छलफल सकिएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार करिब चार घण्टा लामो छलफल भएको हो।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष प्रचण्ड बिहान ११ बजे बालुवाटार पुगेका थिए। छलफल सकिएपछि प्रचण्ड पानै तीन बजे बालुवाटारबाट बाहिरिएका हुन्। यो भेटवार्ता ९ दिनपछि भएको हो। बालुवाटारमा अध्यक्षद्वयबीच मात्र छलफल भएको स्रोतको दाबी छ। भोलि फेरि छलफलमा बस्ने गरी आजको वार्ता सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

र, यो पनि
राजनीतिबाट अवकाश लिन खोजेको थिएँ, परिस्थितिले दिएन : प्रधानमन्‍त्री ओली
नेकपामा यस्तो बन्दैछ सहमतिको ड्राफ्ट !

सापकोटाका अनुसार आजको छलफल पार्टीभित्रको समस्या समाधान उन्मुख भएको छ। ‘समस्या समाधान उन्मुख कोणबाट छलफल सुरु भएको छ’ प्रचण्डका प्रेस संयोजक सापकोटाले भने’ ‘भोलि फेरि बस्नेगरी आजको छलफल सकिएको हो।’

प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष बनाउने गरी सहमति वातारवरण बनेको नेकपाका एक शीर्ष नेताले सन्देशपाटी अनलाइनलाई जानकारी दिए। ‘यो विषयमा एक खालको छलफल भइसकेको छ’ ती नेताले सन्देशपाटी अनलाइनसँग भने ‘ओली पनि मान्न तयार हुनु भइसक्यो । ति नेताका अनुसार महाधिवेशनबाट पार्टी राजनीतिक लाइन ‘जनताको जनवाद’को विषयमा पनि सहमति गर्ने तयारी छ । उक्त विषयलाई तत्लो तहबाटै छलफल गरेर लैजाने तयारी छ ।

ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममा नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

‘हामीबीच प्रतिबद्धता थिए। हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं। सहमतिहरू थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन। जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ। हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो। स्थायित्व चाहियो। जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन। टिक्न दिइएन। यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन।’