घर राजनीति प्रचण्डले मान्छन् त ओली समूहको त्यो प्रस्ताव ?

प्रचण्डले मान्छन् त ओली समूहको त्यो प्रस्ताव ?

575
0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि आयोजक समिति गठन गर्ने नयाँ प्रस्ताव राखेको छ । हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव ओलीको तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेको हो । पार्टीभित्र नमिलेका सबै विषय महाधिवेशनमै टुंग्याउने गरी सहमति गर्ने तयारी छ ।

बुधबार प्रचण्डलाई महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले महाधिवेशन आयोजक समितिको प्रस्ताव गरेका थिए । सोही प्रस्तावपछि बिहीबार विहान प्रचण्डले आफु निकट नेताहरुसँग छलफल गरेर ओलीसँग छलफलमा बसेका थिए । ‘केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने र चैतमा महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको छ’ प्रचण्ड निकट एक नेताले सन्देशपाटीसँग भने ‘अरु कुनै निर्णय गर्न नपाउने गरी आयोजक समितिको संयोजक प्रचण्डलाई बनाउन ओली तयार छन् ।’ शुक्रबार हुने ओली र प्रचण्डबीचको छलफलले नेकपाभित्रको गतिरोधलाई अन्त्य हुने ति नेताले बताए ।

ओलीसँग छलफल सकेपछि बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका छन् । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले पार्टी विवाद समाधानका लागि सुझाव माग्नेक्रम जारी रहेको छ । बुधबार मात्र त्यही कलेजमा प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

र, यो पनि

ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममा नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

‘हामीबीच प्रतिबद्धता थिए। हामीले बीचमा थप केही सम्झौताहरू गर्‍यौं। सहमतिहरू थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन। जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ। हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो। स्थायित्व चाहियो। जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन। टिक्न दिइएन। यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन।’