काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विवाद समाधानका लागी महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन गरिएको हो ।
विवाद समाधान गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ । जस अनुसार अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई-दुई जनाको प्रतिनिधित्व गराइएको छ । कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
र, यो पनि
- प्रचण्डले मान्छन् त ओली समूहको त्यो प्रस्ताव ?
- ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्ड समूहले गर्यो केन्द्रीय सदस्यहरुसँग छलफल
- नेकपा विवाद समाधानतिर : यसरी मिल्दैछन् ओली-प्रचण्ड
- नेकपामा यस्तो बन्दैछ सहमतिको ड्राफ्ट !
- राजनीतिबाट अवकाश लिन खोजेको थिएँ, परिस्थितिले दिएन : प्रधानमन्त्री ओली
कार्यदलले के-के गर्छ ?
कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्नेछ । समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदल केन्द्रीत हुने कार्यदलका एक सदस्यले बताए । पार्टीभित्र उठेका विभिन्न विषय विचारदेखि महाधिवेशनलगायतका विषय समेटिने प्रतिवेदन बनाउने छ । नेकपामा ‘जनताको बहुदलीय जनवाद’ की ‘जनताको जनवाद’ मान्ने भन्ने विवाद छ । सहमतिबाट आगामी महाधिवेशनमा नेतृत्व चयन, अहिलेसम्म सरकार तथा पार्टीबाट भएको गल्ती कमजोरी सच्चाउने, आत्मालोचना गर्ने, आगामी दिनमा पार्टी निर्णयबमोजिम राजनीतिक नियुक्ति गर्ने, हालका केही मन्त्री मुख्यमन्त्रीहरु फेरवदल गर्ने लगायतका विषयमा नेकपामा छलफलको विषय बनेको छ ।