घर प्रदेश यी हुन् २०३८ सालदेखि ०७७ सालसम्म सिन्धुपाल्चोकका ठूला प्राकृतिक प्रकोप

यी हुन् २०३८ सालदेखि ०७७ सालसम्म सिन्धुपाल्चोकका ठूला प्राकृतिक प्रकोप

383
0

काठमाडौं । सिन्धुपाल्चोकमा २०३८ सालदेखि २०७७ सालसम्म सिन्धुपाल्चोकमा ठूला प्राकृतिक प्रकोपका घटनाहरु भएका छन्। भोटेकोसी, सुनकोसी, लिदी बलेफी तथा इन्द्रावती नदी आसपासका साना खोलाको बाढी तथा पहिरोले सयौँ मानवीय क्षति तथा अरबौंको भौतिक सम्पत्ति नोक्सान भएको छ। यस अवधिमा जिल्लाका दर्जनौँ ठाउँमा सयौँ मानिस तथा अरबौँ भौतिक सम्पत्तिको क्षति हुनुका साथै थुप्रै पशुपन्छि समेत नोक्सान भएको प्राप्त तथ्याङ्कले देखाएको छ।

२०३८ साल असार २६ गते तिब्बतको इम्जा हिमताल फुटेर बाढी आउँदा यहाँ ठूलो जनधनको क्षति भएको थियो। त्यो बाढीले तातोपानीका पाँच जनाको मृत्यु भएको र २० घर बगाएको थियो भने दर्जनौँ घाइते भएका थिए। तिब्बतमा समेत गरी ५५ घर बगाएको उक्त बाढीले ठूलाठूला रुख बगाएर ल्याउँदा मितेरीपुल र फुल्पिङकट्टीको झिर्पुपुल बगाएको थियो। भोटेकोसीको बाढीले फुल्पिङकट्टी गाविसमा पर्ने अरनिको राजमार्ग करिब पाँच किमि सडक पूर्णरुपमा बगाएको थियो। तत्कालीन अवस्थामा बाह्रबिसे–तातोपानी २६ किमि सडकखण्डमा भाडाका सवारी साधन सञ्चालन भइनसकेकाले पैदल नै यात्रा गर्नु पर्दथ्यो।

सो बाढीले बलेफी बजारसम्मको सडक बगाएको थियो। पुलको अभावमा स्थानीयले भोटेकोसी नदीमा तुइन बनाइ जोखिमपूर्ण यात्रा गर्दै आएकामा चीन सरकारले २०३९ सालमा स्थायी काठेपुल बनाएर साना सवारी साधन सञ्चालनमा ल्याएको थियो। बाढीले बगाएको पक्की पुल तथा सडक चीन सरकारले नै पुनर्निर्माण गरेको थियो।

विसं २०३९ मा पनि दुई ठूला घटना भएका थिए। सोही वर्षको साउनमा तत्कालिन गुन्सा गाविसको रुन्चे खोलामा राति आएको बाढीले १३ जनाको मृत्यु भएको थियो भने सात घर क्षति भएको थियो। उक्त बाढीले थाङ्पालधापको हाँडीखोलामा एक महिनाअघि निर्मित झोलङ्गेपुल बगाउनुका साथै इन्द्रावती नदी १० घन्टा थुनिएको थियो। नदी थुनिएर बनेको कृत्रिम ताललाई सेनाले वर्षा गराई निकास दिएको थियो। सोही वर्षको साउन १५ गते राति गोल्चे गाविसको घट्टेखोला र सुक्लिङ खोलाको बाढीले बलेफी नदी थुनिएर छेउमै रहेको पाङ्ताङ गाविस-१ फलामसाँघु बजार पूरै बगाएको थियो। त्यस क्षेत्रको मुख्य बजार रहेको फलामसाँघुको २२ घर बगाएको थियो भने ९७ जनाको निधन भएको थियो।

२०४४ सालको साउनमा आएको सुनकोसीको बाढीले ९८ जनाको मृत्यु भएको थियो। बाढीले सबैभन्दा धेरै तत्कालिन घोर्थली गाविसको गाउँ नै बगाएर २२ जनाले ज्यान गुमाएका थिए। बाढीले पनि भोटेकोसी नदीलाई अवरुद्ध गरेपछि ड्यामसाइटदेखि झन्डै तीन किमि सडक क्षति भई नेपाली सेनाले पुनर्निर्माण गरेको थियो।

बाढीबाट २२९ घर पूर्णरुपमा क्षति भएको र घोर्थली, चोकटी, धुस्कुन, बाह्रबिसेलगायत १० गाविस प्रभावित भएको थियो। २०४५ साल साउनमा फुल्पिकट्टी गाविस–१ स्थित खोकुण्डोल खोलामा आएको बाढीले पाँच घर बगाउनुका साथै सात जनाको ज्यान गएको थियो।

विसं २०५३ साउन ७ गते भैरव कुण्डखोलाको बाढीले तातोपानीको लार्चास्थित सीमा प्रहरी कार्यालयको भवनसहित थुप्रै घर बगाएको थियो भने प्रहरी जवानको परिवारसहित ६२ जनाको ज्यान गुमेको थियो। बाढीले लार्चाको पक्कीपुलसमेत बगाएको थियो। सोही वर्षको भदौ २० गते लामोसाँघुको ओखलखोलामा आएको बाढीले तीन जनाको ज्यान गएको थियो। त्यस्तै लामोसाँघुको पक्कीपुल, खेल मैदान र विद्यालय भवन पूरै बगाएको थियो।

२०७१ साउन १७ गते राम्चे–५ को जुरेमा गएको पहिरो यस जिल्लाको आजसम्मकै भीषण मानिएको छ। सो पहिरोमा परी राम्चे, माङ्खा, टेकानपुर र तौथली गाविसका १५६ जनाले ज्यान गुमाएका छन्। जम्मा ३३ शवमात्र फेला परे पनि १२३ बेपत्ता भएका थिए। धेरै दिनको व्यापक खोजी कार्यबाट पनि शव फेला नपरेपछि सरकारले नै बेपत्तालाई मृतसरह घोषण गरी पीडित परिवारलाई राहत वितरण गरिएको थियो। राम्चेको इटिनीको पहरो फुटेर गएको पहिरोबाट सुनकोसी नदी थुनिएपछि अहिले करिब तीन किमी लम्बाइ, करिब पाँच सय मिटर चौडाइ र १५० मिटर गहिराईको कृत्रिम ताल बनेको थियो। सुनकोसीको बहाव पूरै १२ घण्टासम्म थुनिएको थियो भने १८ गते दिउँसो २ बजे ओभरफ्लो भएर पानी बगेको थियो। त्यसैमा नेपाली सेनाले पनि विष्फोट गराई पानीको निकास बढाएको थियो।

असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले बाह्रबिसेस्थित जम्बुलगायतका ठाउँका २० जना बेपत्ता भए भने २ जनाकव शव भेटियो। बाढीले दुई दर्जनभन्दा बढी घर बगाएको थियो।

शुक्रबार बिहान आएको पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो। हालसम्म २२ जना मृत फेला परेका छन् भने १७ जना अझै बेपत्ता छन्। पहिराले ३७ घर पूर्णरुपमा क्षति भएको छ।