घर प्रदेश ३० घण्टादेखि सिन्धुपाल्चोकमा कोरोना संक्रमित अलपत्र

३० घण्टादेखि सिन्धुपाल्चोकमा कोरोना संक्रमित अलपत्र

638
0

सिन्धुपाल्चोक । एकातिर कारोना सम्बन्धी विविध कार्य गर्न जिल्ला अस्पताल चौतारालाई प्रदेश सरकारले ६४ लाख रुपैयाँ अनुदानमा दिए । अर्कोतर्फ स्थानीय सरकारहरुले कोरोनाको नाउँमा दस करोड भन्दा वेशी स्वाहा पारे । फेरि पनि उपलव्धी भने हात लागे शून्य देखिएको छ ।

सन्दर्भ सिन्धुपाल्चोकको हो । सिन्धुपाल्चोकमा भदौ १ गते एक गैरसरकारी संस्थामा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । इन्द्रावती, मेलम्ची, कुविण्डे र मण्डन देउपुर काभ्रे घर रहेका ती संक्रमितहरु मध्य इन्द्रावती र मेलम्चीका भने पुष्टि हुनुअघि नै घर गइसकेका थिए । मण्डनदेउपुर र कुविण्डेका भने चौतारा स्थित आफ्नै कार्यालयमा होम क्वारेन्टाइनमा बसिरहे । भदौ १ गते ६ बजे नै कोरोना पुष्टि भएको रिर्पोट सार्वजनिक गरे पनि उनीहरुलाई सुरक्षित ढंगले न त आइशोलेसनमा लगे, न त अन्यत्र नै । उल्टै उनीहरुको कार्यालयलाई सिल गर्दै बाहिरबाट प्रहरीले पहरा दिन थाले । सँगै सोही घरमा कार्यालय राखी जनतापत्र साप्ताहिक प्रकाशन गर्दै आएका पत्रकार टीका सुवेदी लगायत केही पत्रकारहरु पनि सोही घरको सिलबन्दीमा परे । जिल्ला स्वास्थ्य कार्यालयले ठाउँ अभावको हवाला दिँदै वितेको ३० घण्टासम्म संक्रमितहरुलाई सोही कार्यालयमा राख्नुपर्ने निर्लज्जता देखाए ।

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म सिन्धुपाल्चोकका नगर र गाउँपालिकाले दस करोडभन्दा बढी खर्च गरेको छ । तर त्यत्रो बजेट स्वाहा पारेर पनि दुईजना संक्रमित राख्ने ठाउँ अभाव देखाएर संक्रमितलाई अलपत्र छोडेपछि अहिले सिन्धुपाल्चोकमा चौतर्फी आलोचना हुन थालेका छन् । खासगरि स्थानीयहरुले कोरोनाको नाउँमा खर्च गरेको करोडौंको हिसाब माग्न थालेका छन भने अर्कोतर्फ दुई जना संक्रमितको उचित सम्वोधन गर्न नसको भन्दै रोष प्रकट गरेका छन् । स्थानीय भूगोल आचार्यले यो घटनाले स्थानीय सरकारको घिन लाग्दो स्थितिको पर्दाफास गरेको तर्क पेश गरे । कोरोनाको नाममा बजेट स्वााह गर्ने अनि आइसोलेसन वेडको अभाव देखाउने पालिकाहरुले तुरन्तै कारोनाको नाममा खर्च गरेको विवरण सार्वजनिक गर्न आचार्यले माग गरे ।

यो घटनालाई नजिकबाट नियालिरहेका योगेन्द्र चौधरीले सिन्धुपाल्चोकमा पूर्वतयारी शुन्य रहेको बताए । उनले सिन्धुपाल्चोकमा क्वारेन्टाइन र आइसोलेसनको तयारी राम्रो रहेको मिडियाबाट थाह पाएको तर बास्तविकता भने त्यस्तो नरहेको यो घटनाले पुष्टि गरेको बताए ।

हुन पनि सिन्धुपाल्चोकमा ८ सय १७ क्वारेन्टाइन वेड र ७० आइशोलेसन वेड रहेको तथ्याँक डिसिसिएमसीले हरेक दिन सार्वजनिक गर्दै आएको छ तर आवश्यक पर्दा दुईजनालाई आइसोलेसन बेड उपलव्ध गराउन नसक्नुले यो तथ्याङ्क नै मिथ्याङक भएको पुष्टि हुन्छ । अर्कोतर्फ चौतारा अस्पताललाई कोरोना अस्पताल बनाउँदै प्रदेश सरकारले दिएको ६४ लाख अनुदान पनि बालुवाको पानी साबित भएको छ ।