घर पत्रपत्रिका छोरीलाई पास गराउन लोकसेवा परीक्षामा विज्ञ र कर्मचारीले यसरी मिलाए सेटिङ

छोरीलाई पास गराउन लोकसेवा परीक्षामा विज्ञ र कर्मचारीले यसरी मिलाए सेटिङ

429
0

काठमाडौं । लोकसेवा आयोगको परीक्षामा ‘गोप्य राखिने विज्ञ’ र कर्मचारी नै ‘सेटिङ’मा लाग्ने गरेको पाइएको छ । आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङमा योग्यता, स्वच्छता र निष्पक्षतालाई धज्जी उडाउँदै आफूले चाहेको व्यक्तिलाई पास गराउन लागेको पाइएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार उत्तरपुस्तिका सच्याएर छोरीलाई पहिलो नम्बरमा पास गराउने लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई कारबाही गरिएको छ भने विज्ञमाथि छानबिन भइरहेको छ । उनले विज्ञमाथि आन्तरिक रूपमा कारबाही भइरहेको बताए ।

शाहीलाई ५ वर्षसम्म बढुवा नहुने गरी विभागीय कारबाही गरिएको छ । उनको ग्रेडसमेत रोक्का भएको छ । उनले ५ वर्षसम्म ग्रेड पनि नपाउने भएका छन् । उनी आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखामा कार्यरत थिए ।

छोरी विमला शाहीलाई लोकसेवाबाट सञ्चालन हुने लिखित परीक्षामा आगामी दुई वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । नेपाल वायुसेवा निगमको प्रशासन सेवाको सहायक चौथोको परीक्षामा उत्तरपुस्तिकामा आफूलाई चिनाउने संकेत प्रयोग गरी आयोगले तोकेको सर्तको उल्लंघन गरी परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएपछि बाबुछोरीलाई आयोगले कारबाही गरेको हो ।

विज्ञापन नम्बर १९–२०/०७५–७६ को प्रशासन सहायक चौथो (खरिदारस्तर)को लिखित परीक्षा २०७६ जेठ ११ मा सञ्चालन भएको थियो । अधिकृत शाहीले वस्तुगत परीक्षामा आउने ५० प्रश्नहरूको सबै उत्तर ‘सी’ मात्रै लेखेर बाहिरिन भनेका थिए । उत्तर पुस्तिका जाँच्ने क्रममा ‘सी’ लाई ‘ए’ ‘बी’ र ‘डी’ बनाएर सच्याउनका लागि उनले त्यसो गरेको खुल्न आएको छ । वस्तुगत परीक्षामा ५० वटै उत्तर मिलेको देखिएपछि आयोगले शंका लागेर छानबिन गर्दा पछि उत्तर सच्याएको प्रमाणित भएको थियो । विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछि सच्याएको प्रमाणित भएसँगै उक्त घटना बाहिर आएको हो ।

लोकसेवाका शाखा अधिकृत शाहीले छोरीलाई उत्तरपुस्तिका सच्याएर पहिलो नम्बरमा पास गराएका थिए । त्यो कुरा थाहा पाउनेबित्तिकै आयोगले ‘एक्सन’ लिएको अध्यक्ष उमेशप्रसाद मैनालीले बताए । ‘छोरी पास गराउने कर्मचारीलाई अहिले विभागीय कारबाही गरिएको छ । अन्य कारबाहीको लागि पनि प्रक्रिया अगाडि बढेको छ’, उनले भने । सहसचिव (प्राविधिक) परीक्षामा पनि गडबड भएको पाइएको छ । विज्ञले नै सेटिङ गरेको पाइएपछि सहसचिवको परीक्षामा रद्द गरी नयाँ परीक्षा गर्ने निर्णय आयोगले गरेको छ ।

परीक्षामा सेटिङ भएको शंका लागेपछि आयोगको विज्ञापन न १७१६७/७६–७७ बाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी(सहसचिव), सूचना प्रविधि विज्ञको पदपूर्तिको लागि सञ्चालित लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको पूर्वनिर्धारित अन्तर्वार्ता कार्यक्रम स्थगन गरियो । छानबिन गर्दा आयोगको योग्यता,स्वच्छता र निष्पक्षता तीन कार्य प्रणालीका सिद्धान्तमा संशय देखिएपछि लिखित परीक्षा नै रद्द गरेर नयाँ परीक्षा पछि सञ्चालन गर्ने अवस्थामा आयोग पुग्यो । सहसचिवको यो विज्ञापनमा १० जनाको दरखास्त स्वीकृत भएको थियो । २०७६ पुस १५ र १६ गते सूचना प्रविधिविज्ञका लागि आयोगले लिखित परीक्षा लिएको थियो ।

तीन जना अन्तर्वार्तामा छनोट भएका थिए । असार ३१ गते मौखिक परीक्षाको कार्यक्रम तय गरिएको थियो । अन्तर्वार्ता हुनुअगाबै सेटिङ हुन लागेको देखियो र आयोगले छानबिन अगाडि बढायो । छानबिन गर्दा सेटिङ भएको पाइएपछि साउन २९ को आयोगको बैठकले परीक्षा नै रद्द ग¥यो ।पछि दरखास्त दिएका तीनै १० जनाबीच प्रतिस्पर्धा हुने गरी लिखित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

लोकसेवा आयोगका अध्यक्ष मैनालीले विश्वसनीय रहेको संस्थामा सेटिङ गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएका छन । उनले दोषी देखिएका कसैलाई नछोड्ने बताए । ‘म कप्रोमाइज गर्दिनँ,’ उनले भने,‘अधिकृतलाई कारबाही गरिसकेका छौं, शंका लागेको परीक्षा नै खारेज ग¥यौं । हदैसम्मको गल्ती भएको छ ।’ उनले सेटिङ गर्ने विज्ञमाथि शंका लागेर छानबिन भइरहेको बताए । उनले लोकसेवाको इतिहासमा आन्तरिक रूपमा पहिलो पटक छानबिन समिति बनाएर कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिए । ‘मैले नै छानबिन गरेर पत्ता लगाएको विषय हो, प्वाल पार्न खोजिएको छ,मैले नै टाल्ने यो प्रयास गरेको हुँ’, मैनालीले भने ।

उनका अनुसार विगतमा कर्मचारीतन्त्रलाई विश्वास गर्दा उनीहरूले नै मनपरी गरेको पनि पाइएको छ ।सेटिङमा कर्मचारी र विज्ञ नै हुने गरेको खुलेको छ । लोकसेवामा भएका विकृति हटाउन खोज्दा उल्टो प्रहार हुनु दुःखद् भएको उनले गुनासो गरे । विगतका आयोगले छानबिनको काम नै नगरेको उनको भनाइ छ । ‘पहिला यस्तो छानबिन नै भएको थिएन, अहिले गर्दा यहाँभित्र पनि छिद्र रहेको पाइयो र कारबाही प्रक्रिया पनि थालिएको छ’, मैनालीले भने ।

विगतमा पनि आयोगमा सेटिङ नभएका होइनन् । शिक्षा मन्त्रालयअन्र्तगत शैक्षिक जनशक्ति विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल सचिव) सूर्यप्रसाद गौतमले आफ्नी पत्नी र पूर्व शिक्षा सचिव रामस्वरूप सिन्हाले आफ्नी छोरीको कपी आफैंले जाँचेर बढी नम्बर दिएका थिए । शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गतको विद्यालय निरीक्षक पदको परीक्षामा उनीहरूले बढी नम्बर दिएका थिए । सिन्हाकी छोरी अन्तिमा कुमारी सिन्हा र गौतमकी पत्नी इन्दिरा ढकाल गौतम लिखित परीक्षाबाट उत्तीर्ण भएको सन्दर्भ छानबिन गर्दा दुवैका आफ्नै नातेदारले उत्तरपुस्तिका परीक्षण गरेको पाइएको भन्दै आयोगले २०६९ असोज २४ मा परीक्षा रद्द गरेको थियो । उत्तरपुस्तिका जाँच गर्ने मात्रै होइन, प्रश्नपत्र बनाउने पनि उनीहरू नै भएको आयोगले जनाएको थियो । त्यतिबेला परीक्षा रद्द गर्ने बाहेकको कुनै कारबाही नभएको आजकव अन्‍नपूर्ण पोष्टमा खबर छ ।