घर खेलकुद लुकाकुको त्यो आत्मघाती गोल, सेभियाको पोल्टामा पुग्यो युरोपा लिगको उपाधि

लुकाकुको त्यो आत्मघाती गोल, सेभियाको पोल्टामा पुग्यो युरोपा लिगको उपाधि

259
0

युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । शुक्रबार राति जर्मनीमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै सेभिया च्याम्पियन बनेको हो ।

छैटौं पटक युरोपा लिगको च्याम्पियन बनेको सेभिया युरोपा लिग सर्वाधिक जित्ने क्लब हो । पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेपछि सेभिया च्याम्पियन बन्न सफल भयो ।

७४ मिनेटमा सेभियाका डिफेन्डर डिएगो कार्लोसको प्रहारलाई रोक्ने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।त्यसअघि लुकाकुकै गोलमा इन्टरले पहिले अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा सेभियाका डिफेन्डर कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा लुकाकुले गोल गरेका थिए ।

१२ मिनेटमा सेभियाका लुक डे जोङले जेसस नाभासको क्रसमा बराबरी गोल फर्काए । ३३ मिनेटमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २-१ को अग्रता लियो । यसपटक जोङले एभर बेनेगाको क्रसमा गोल गरे ।

सेभियाको अग्रता दुई मिनेट पनि टिक्न पाएन । इन्टरका डिएगो गोडिनले ३५ मिनेटमा गोल गर्दा खेल २-२ गोलको बराबरीमा आयो । सेभियाले २००६ यता युरोपा लिगको छैटौं पटक उपाधि जितेको हो । उसले २०१४ देखि २०१६ सम्ममा लगातार तीन पटक उपाधि जितेर इतिहास बनाएको थियो । एजेन्सी