घर पत्रपत्रिका चीनले लिपुलेकमा सेना खटाएकै हो त ? यस्तो छ भारतीय मिडियाको दाबी...

चीनले लिपुलेकमा सेना खटाएकै हो त ? यस्तो छ भारतीय मिडियाको दाबी र नेपालको प्रतिक्रया

221
0

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ । चीनले त्यस क्षेत्रमा एक सय ५० लाइट कम्बाइन आम्र्ड ब्रिगेड खटाएको र उनीहरू दुई साताअघि तिब्बतबाट लिपुलेकतर्फ प्रस्थान गरेको उनीहरूले बताएका छन् ।

चीनले लिपुलेक क्षेत्रमा सैनिक संख्या बढाउनुभन्दा पहिले नेपाली नेतृत्वलाई विश्वासमा लिएको र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गरेको बिजनेस इन्साइडरले दाबी गरेको छ । मिडिया रिपोर्टमा लिपुलेक सीमा क्षेत्रमा चिनियाँ सैनिक खटाएको दाबी गरिए पनि नेपाली सरकारी निकायले भने यसमा अनविज्ञता व्यक्त गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले भारतीय मिडियाले गरेको दाबीमा सत्यता नभएको बताए । ‘सीमा क्षेत्रमा हाम्रो बिओपी (बोर्डर आउटपोस्ट) छ । तर त्यस्तो कुनै सूचना प्राप्त भएको छैन,’ उनले भने ।

नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो दाबी गर्दै भारतले गत नोभेम्बर २ मा नयाँ नक्सा प्रकाशित गरेपछि दुई देशबीच सीमा विवाद चुलिएको छ । गत वैशाख २६ मा भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक एकतर्फी रुपमा उद्घाटन गरेपछि नेपालले यसको व्यापक विरोध गर्दै भारतलाई कूटनीतिक नोट बुझाएको थियो । पछि नेपालले अतिक्रमित भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो । नेपालका तर्फबाट भारतीय एकतर्फी निर्णयको विरोध भएपछि भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवानेले नेपालले उठाइरहेको लिपुलेकको विषय चिनियाँ स्वार्थमा रहेको संकेत गरेको नागरिक दैनिकमा खबर छ ।