घर समाचार २४ घण्टामा ८५५ जनालाई संक्रमण, काठमाडौं उपत्यकामा २३२ संक्रमित

२४ घण्टामा ८५५ जनालाई संक्रमण, काठमाडौं उपत्यकामा २३२ संक्रमित

129
0
फाइल तस्बिर

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ । होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ । क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन् ।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन् । मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट १६४ जनाको मृत्यु भएको छ ।